Need Help ?
Call: +977-061465096

क्षेत्रको बारेमा

स्वागत छ क्षेत्रीय शिक्षा निर्देशनालय, पश्चिमान्चल, पोखरामा !!!

          पश्चिमाञ्चल विकास क्षेत्र २९,३९८ वर्ग कि.मी. क्षेत्रफल भएको हिमाल, पहाड र तराई सहितको भू-भाग हो । नेपालका ठूला छिमेकी राष्ट्रका रुपमा रहेका चीन र भारत यस विकास क्षेत्रको क्रमशः उत्तरी र दक्षिणी सिमामा पर्दछन् भने पश्चिममा कर्णाली अञ्चलको डोल्पा, राप्ती अञ्चलको रुकुम, रोल्पा एवं दाङ र पूर्वमा वाग्मती अञ्चलको धादिङ एवं नारायणी अञ्चलको चितवन पर्दछन् । विविध हिमालय श्रृङखला, अविरल बग्ने नदिनाला, अन्नपूर्ण, मनास्लु र ढोरपाटन जस्ता आरक्षण क्षेत्रहरु, लुम्बिनी तथा मुक्ति क्षेत्र लगायत अन्य सांस्कृतिक धरोहर, मनै लोभ्याउने पर्यटकीय क्षेत्रले एकातिर पश्चिमाञ्चल क्षेत्रको छुट्टै महिमा बढाएको छ भने अर्कोतिर उचाईको विविधताका कारण यस क्षेत्रमा भौगोलिक, वातावरणीय, सांस्कृतिक र जैविक विविधता रहेको छ । 
          भौगोलिक हिसाबले तीन भाग तराई, पहाड र हिमाल) मा विभाजित यस विकास क्षेत्रले कुल जनसंख्याको १८.५७% जम्मा ४,९४५,१९०, पुरुष २,३०५,९९५ र महिला २,६३९,१९५) हिस्सा ओगटेको छ । जसको जनघनत्व प्रति वर्ग कि.मी.मा १६८ जना रहेको छ भने सवैभन्दा कम जनघनत्व मनाङ जिल्लाको प्रति वर्ग कि.मी. ३ जना र सबैभन्दा वढी रुपन्देही जिल्लाको प्रति वर्ग कि.मी. ६५२ जना रहेको छ । वाषिर्क जनसंख्या वृद्धिदर ०.७९% रहेको यस क्षेत्रमा मनाङ जिल्लाको जनसंख्या बृद्धिदर ऋणात्मक -३.८४ रहेको छ । औसत परिवार संख्या ४.४८ रहेको यस क्षेत्रमा जम्मा १,१०२,८५४ घर धुरीमा बसोबास गरेको देखिन्छ । विभिन्न सामाजिक, आर्थिक सूचकाङ्कले लैङ्गकि/सांस्कृतिक, क्षेत्रीय, स्थान -गाउँ-शहर) सम्बन्धी थुप्रै असमानताहरु यस क्षेत्रमा विद्यमान भएपनि असमानताका बाबजुद क्रमिक प्रयासले गर्दा स्थितिमा सुधारका संकेतहरु देखिएका छन्, यद्यपी धेरै कामहरु गर्नु बाँकी नै छ ।
          प्रशासनिक दृष्टिकोणले यस विकास क्षेत्रलाई तीन अञ्चलमा विभाजन गरिएको छ । गण्डकी अञ्चलमा ६, लुम्बिनी अञ्चलमा ६ र धवलागिरी अञ्चलमा ४ जिल्ला रहेका छन् । प्रत्येक जिल्लालाई विभिन्न गाउँ विकास समिति र नगरपालिकाहरुमा विभाजन गरिएको छ । हाल यस विकास क्षेत्रमा ७८२ गा.वि.स., १ उपमहानगरपालिका -पोखरा) र ३१ नगरपालिका रहेका छन् । यस क्षेत्रको साक्षरता दर ७०.९८ -पुरुषको ७९.९१, महिलाको ६३.३७) रहेको छ ।
 
क्षेत्रीय शिक्षा निर्देशनालयको उद्देश्य तथा कार्यहरु
उद्देश्यः
  • मन्त्रालय र विभागको निर्देशनमा क्षेत्रभित्रका कार्यक्रमहरु कार्यान्वयन गर्ने,
  • क्षेत्रभित्रका शैक्षिक कार्यक्रमहरुको अनुगमन तथा सुपरीवेक्षण गर्ने,
  • क्षेत्रभित्रका शैक्षिक कार्यक्रम तथा क्रियाकलापमा एकरुपता र प्रभावकारीता कायम गर्न समन्वय, निर्देशन र नियन्त्रण गर्ने ।
मुख्य-मुख्य कार्यहरुः
  • मन्त्रालय र विभागले बनाएका नीति नियमहरुका आधारमा आफ्नो क्षेत्रमा पूर्वप्राथमिक/शिशु कक्षादेखि उच्च माध्यमिक शिक्षा सम्मका शैक्षिक कार्यक्रमहरुको अनुगमन गर्ने, गराउने र त्यसको प्रगति प्रतिवेदन सम्बन्धित निकायमा पठाउने,
  • मा.वि. तहका संस्थागत तथा सामुदायिक विद्यालयहरु सञ्चालनका लागि आवश्यकतानुसार स्वीकृती/अनुमती प्रदान गर्ने,
  • विद्यालयहरुलाई सार्वजनिक तथा नीजि गुठी अन्तर्गत दर्ता गर्ने,
  • आफ्नो र मातहतका कार्यालयका कर्मचारीहरुको कार्य विभाजन तथा जिम्मेवारी तोक्ने र तोक्न लगाउने, कार्यविधि तथा कार्य विवरण तयार गरी लागू गर्ने र गर्न लगाउने,
  • सेवाग्राहीको पीरमर्का र उजूरी सुनी तत्काल कार्यवाही गर्ने तथा मातहतका कार्यालयहरुलाई सेवाग्राहीको पीरमर्का र उजूरीको उचित सुनुवाई गर्न निर्देशन दिने,
  • जिल्ला शिक्षा कार्यालय र श्रोतकेन्द्रहरुबाट नियमितरुपमा प्रभावकारी तवरले विद्यालयको निरीक्षण गराउने,
  • जिल्ला शिक्षा अधिकारीहरुको काममा समन्वय, निरीक्षण तथा मूल्याङ्कन गर्ने,
  • विद्यालयमा शिक्षाको स्तर बृद्धि भए नभएको सम्बन्धमा अभिलेख राख्ने तथा सो सम्वन्धमा जिल्ला शिक्षा कार्यालयहरुलाई आवश्यक निर्देशन र पृष्ठपोषण दिने,
  • माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको नाम, थर र जन्म मिति प्रचलित कानून बमोजिम सच्याउने, मूल तथा प्रोभिजनल प्रमाणपत्र र स्थानान्तर प्रमाणपत्र दिने, प्रतिलिपि प्रमाणपत्रहरु उपलब्ध गराउने,
  • क्षेत्र अन्तरगतका विद्यार्थीहरुको रजिस्ट्रेशन एवं आवेदन फारम भर्ने भराउने कार्यमा समन्वय गर्ने,
  • शिक्षक, विद्याार्थी, कर्मचारी आदिको तालिम, गोष्ठी, सेमिनार सम्वन्धी कार्यको समन्वय, कार्यान्वयन तथा अनुगमन गर्ने गराउने,
  • शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा अन्य केन्द्रीय शैक्षिक निकायहरुबाट समय समयमा तोकिएका अन्य कार्यहरु गर्ने,
  • सरोकारवालाहरुलाई स्थानीय तहमा योजना निर्माण कार्यमा सहयोग पुर्‍याउने ।